काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार साँझ भेटवार्ता भएको छ । उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए । गौतमको सचिवालयले उक्त भेट विशुद्ध पारिवारिक भेट भएको बताएको छ । भेटमा ओली र गौतम पक्षका गरी ३० जना सहभागी थिए । गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले सामाजिक संजालमा फोटो पोष्ट गर्दै यस्तो लेखेका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष क. केपी शर्मा ओली आज उपाध्यक्ष क. वामदेव गौतमको भैसेपाटी स्थित निवासमा बिल्कुल पारिवारिक भेटघाटका क्रममा पुग्नुभएको हो । उक्त भेटमा दुबै तर्फबाट जम्मा ३० जनाको उपस्थिति थियोे । यसबाहेक उक्त भेटघाटको कुनै राजनीतिक अर्थ र अभिप्राय थिएन । केही समसामयिक विषयमा अनौपचारिक कुरा भए पनि भेटको उद्देश्य राजनीतिक होइन । प्रधानमन्त्रीले आफू नख्खु पुगेपछि मात्र क. वामदेवलाई आफू आउँदै गरेको जानकारी दिनुभएको थियो ।
ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसेको थियो । बैठकले ओलीले स्थायी कमिटी बैठक स्थगित गर्नु गलत भएको ठहर गरेको छ । बैठकमा बैठकमा गौतम पनि सहभागी थिए ।
बैठकमा उपाध्यक्ष गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री रहिरहने प्रस्ताव गरेका थिए । उनले प्रचण्डलाई अधिकारसहितको कार्यकारी अध्यक्षको प्रस्ताव गरेका थिए । आफू अनुपस्थित हुँदा पनि बैठक संचालन भएपछि प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न गएका हुन् । गौतम निवासमा ३० जना भेला भएको बताएपनि को को थिए भन्ने केही बताइएको छैन ।

प्रतिक्रिया