सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा


कास्की । आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मस्र्याङदी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो ।
खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पाँच/पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो । 

मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो । ट्राइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्यूरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे ।
यसैगरी मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे । सहारा अन्तिम पटक विसं २०७३ मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा मनाङसँगै सहारा पराजित भएको थियो । त्यसयता सहारा फाइनल पुग्न सकेको थिएन । 

प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ । 

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही फागुन ९ गते शनिबार हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने र अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन् ।