अमेरिकी नागरिक आन्दोलनका अगुवा जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन


बीबीसी । अमेरिकी नागरिक अधिकार आन्दोलनका प्रमुख नेता जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ हामी नागरिक अधिकार नेता तथा रेनबो पुष कोएलिसनका संस्थापक माननीय रेभरेन्ड जेसी लुइस ज्याक्सन सिनियरको निधनको घोषणा गर्दछौं।’

उनको मृत्युको कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। यद्यपि उनलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी नामक दुर्लभ क्षयरोग लागेको पुष्टि भएको थियो। यसअघि उनलाई पार्किन्सन रोग लागेको बताइएको थियो ।

अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति ओबामाले उनलाई “साँचो महान व्यक्तित्व” भन्दै उनका दुई ऐतिहासिक राष्ट्रपतीय अभियानले आफ्नो अभियानका लागि आधार तयार गरेको बताएका छन् ।

सन् १९४१ मा दक्षिण क्यारोलिनाको ग्रिनभिलमा जन्मिएका ज्याक्सन सन् १९६० को दशकमा मार्टिन लुथर किङ जुनियरसँग मिलेर नागरिक अधिकार आन्दोलनमा सक्रिय भएका थिए। सन् १९६८ मा मेम्फिसमा किङको हत्या हुँदा ज्याक्सन उनीसँगै रहेका थिए ।

ज्याक्सनले सन् १९८४ र १९८८ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रयास गरेका थिए। उनी सामाजिक न्याय र नागरिक अधिकारमा केन्द्रित गैरनाफामूलक संस्था ‘रेनबो पुष कोएलिसन’का संस्थापकका रूपमा परिचित छन् ।

उनले गरिब तथा श्रमिक वर्गका अमेरिकीहरूको अधिकारका पक्षमा आवाज उठाउँदै विविध समुदायलाई एकताबद्ध गर्ने अभियान चलाएका थिए। ६० वर्षभन्दा बढी लामो सार्वजनिक जीवनमा उनले बहिष्कार, धर्ना र मतदाता दर्ता अभियानमार्फत व्यापक जनपरिचालन गरेका थिए।