मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना


मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यान दिँदै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो।

बिहीबार यहाँ आयोजित जिल्ला सुरक्षा समितिसहितको सर्वदलीय बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको हो।

माथिल्लो मुस्ताङको थुर्लुङ फाँटमा नेपाली सेना र चराङमा सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए।

यसैगरी जोमसोमस्थित इन्द्रबक्स गणमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस स्थापना भएको उनले बताए।

उनका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यकता परेमा म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पनि थप निर्वाचन सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको छ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङस्थित गाउँपालिकाको एक भवनमा सशस्त्र प्रहरी बल नेपालको बिहीबार निर्वाचन सुरक्षा बेस स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यहाँ केन्द्रबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा २४ सशस्त्र प्रहरीका निर्वाचन सुरक्षा टोली परिचालन भइसकेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले जनाएको छ।

पैँतीस जनाको निर्वाचन सुरक्षा बेसका लागि चराङमा सशस्त्र प्रहरी टोली खटाइएको हो। त्यसमध्ये २३ सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मको सुरक्षा टोली पठाइएको हो भने बाँकी थप ११ जना निर्वाचन प्रहरीको तालिम प्रशिक्षण सकेपछि खटाइने जनाइएको छ।

त्यहाँको निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक ऋषिकेश राउतले नेतृत्व गरेका छन्।

यसैगरी यहाँस्थित निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा क्विक रेस्पोन्स टिम (क्यूआरटी) समेत गठन भइसकेको जनाइएको छ।

सरकारले घोषित निर्वाचन सफल पार्न सेना परिचालन गर्ने निर्णय गरेसँगै मुस्ताङका विभिन्न स्थानमा नेपाली सेनाले दैनिक गस्ती गर्न सुरु गरिसकेको छ।

यसैगरी माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल (बीओपी) र चराङस्थित सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले गाउँ गाउँमा निर्वाचन सुरक्षा गस्ती गर्न सुरु गरिसकेको छ।