सरिता गिरीको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौँ । सर्वोच्च अदालतले सरिता गिरीको सांसद पद खारेज हुने गरी पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले पार्टीको विधान र कानूनअनुसार नै उनलाई कारबाही गरिएको देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । इजलासले बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको छ ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् । पार्टीले आफूलाई गरेको कारबाही विरुद्ध गिरी सर्वोच्च गएकी थिइन् ।