दोस्रो अभ्यास खेलमा नेपाल विजयी


काठमाडौँ । टी–२० विश्वकपको तयारी गरिरहेको नेपालले दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हराएको छ । १८४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा सीमित भयो । सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

ललित राजवंशी र गुलशन झाले समान २ विकेट लिए । पहिलो ओभर २२ रन खर्चेका गुलशनले पछिल्लो २ ओभरमा ५ रन खर्चेर २ विकेट लिएका हुन् । मुम्बईका लागि ओपनर मुलचन्दानीले रनआउट हुनुअघि २७ बलमा टोलीका लागि सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर सक्सेनाले २३ रन जोडे।

ब्रेबन क्रिकेट स्टेडियम त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आरिफ शेखको अविजित अर्धशतकसँगै २० ओभरमा ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो।