कांग्रेसको विशेष महाधिवेशनकाबारेमा एमालेमा बहस


काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीमा पत्र बुझाए । तर कांग्रेसको ४९ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने कार्यतालिका निकाल्यो । कार्यतालिका त निकालियो तर कार्यतालिकाअनुसारको काम नभएपछि नियमित महाधिवेशन त्यसै रोकियो । संस्थापन पक्ष नियमित महाधिवेशन गराउने पक्षमा नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाए । आइतबार महाधिवेशन उद्घाटन भएको छ । आज बन्दसत्र सुरु भइसकेको छ । आज बन्दसत्रले नयाँ नीति र नेतृत्व चयन गर्ने तयारी छ ।

उद्घाटन समारोह देखेर गगन र विश्वप्रकाशलाई पार्टीभित्रका मात्र नभई प्रतिस्पर्धी दलका कतिपय नेताले प्रशंसा गरेका छन् । आइतबार विशेष महाधिवेशन उद्घाटनका क्रममा महामन्त्री थापाले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका थिए । उनले भनेका थिए, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कुनै ‘बा’ छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन। यहाँ सबै बराबर छन् ।’

कांग्रेसको विशेष महाधिवेशनकाबारेमा एमालेमा अलि बढी नै बहस र चर्चा भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले बा र दास शब्दप्रति आपत्ति जनाएका छन् । तर कतिपयले भने गगन र विश्वको साहसप्रति सलाम गरेका छन् । एमालेले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ । एमालेमा पनि ओलीलाई हटाएर नेतृत्व परिवर्तन गर्ने पक्षमा रहेकाहरुले नेतृत्व परिवर्तन त गर्न सकेनन् तर केही सानो संख्यामा भने जितेका छन् । नेतृत्व परिवर्तनका पक्षमा रहेका योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भएका छन् ।

उपमहासचिव भट्टाईले कांग्रेस विशेष महाधिवेशनलाई हेरेपछि गगन-विश्वलाई सलाम गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘हामीले बोल्यौं, केही गर्यौं, तपाईंहरूले बोल्नू भयो, हामीभन्दा धेरै गर्नुभयो, सलाम मित्रहरू !’

त्यसैगरी नेकपा एमालेकी नेतृ नवीना लामाले पनि कांग्रेसको विशेष महाधिवेशनको प्रशंसा गरेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, ‘नेपाली कांग्रेसमा अमरसिंह थापाहरू बलभद्र कुँवरहरू जिउँदै रहेछन् । पासाङ ल्हामु जत्तिकै साहसी छोरी पनि यही पार्टीमा जन्मिएकी रहेछिन् । साहस, संघर्ष र स्वाभिमानको उदाहरण !’

तर एमालेका सूर्य थापाले चाहिँ विशेष महाधिवेशनका नाममा जबर्जस्ती देउवालाई हटाउन खोजिएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नेकपा एमाले बृद्ध ‘बा’लाई अपमानपूर्वक बृद्धाश्रम धपाएर घरसम्पति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिँउँदो छोराको पार्टी किमार्थ होइन । चेतना भया !’

नेपका एमालेका महासचिव शंकर पोखरेलले चाहिँ गगन थापाले दास भनेकोमा आपत्ति जनाएका छन् । महासचिव पोखरेलले लेखेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ-भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’

राष्ट्रिय युवा संघ नेपालका पूर्व–महासचिव सुमन पुरीलाई पनि गगन थापाले लास भनेकोमा चित्त दुखेछ । उनी लेख्छन्, ‘गगनजी, हामी पनि जिउँदा मानिस हौँ, त्यसैले महाधिवेशनमा प्रतिस्पर्धा भयो । हार–जित गौण कुरा हो । हामी प्रश्न गर्छौँ आफूलाई सही साबित गर्न अरूलाई आरोप लगाउनै पर्दैन।’