पोखरा । मुक्तिनाथ कागबेनी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ। पोखरामा सम्पन्न भएको सभाले कम्पनीको वित्तीय अवस्था, लगानी रणनीति र आगामी विस्तार योजनालाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। सञ्चालक समितिका अध्यक्ष चक्रपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरी सेयरधनीहरूको छलफलपछि अनुमोदन गरिएको हो।
सभाले कम्पनीको चालु आर्थिक वर्ष २०८२/८३का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । नयाँ नेतृत्वसँगै कम्पनीको सञ्चालन अझ व्यावसायिक, पारदर्शी र परिणाममुखी हुने अपेक्षा सेयरधनीहरूले व्यक्त गरेका छन् ।
साधारण सभाले कम्पनीको जारी पूँजी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै हालको ३ करोड ६१ लाखलाई वृद्धि गरि १७ करोड पुर्याइएको छ । यो निर्णयसँगै कम्पनीले निर्माणको चरणमा रहेको मुक्तिनाथ केबलकारका साथै अन्य ठूला र दीर्घकालीन परियोजनामा लगानी गर्ने क्षमता बढाउने र संस्थागत रूपमा सुदृढ बनाउने विश्वास गरिएको छ।
सभाबाट कम्पनीको नियमावली संशोधन गरी लगानी क्षेत्रलाई थप विस्तार गरिएको छ। अब कम्पनीले बैंकिङ तथा वित्तीय क्षेत्रसँगै आईपीओ, होटल तथा आतिथ्य, स्वास्थ्य सेवा, खेलकुद तथा पर्यटनजस्ता उच्च सम्भावनायुक्त क्षेत्रहरूमा समेत लगानी गर्न सक्नेछ। यसले कम्पनीको पोर्टफोलियो विविधिकरण भई जोखिम व्यवस्थापन र प्रतिफल दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
साधारण सभामा अध्यक्ष सुवेदीले कम्पनीको दुई वर्षको यात्रालाई स्थायित्व निर्माण र भविष्यको वृद्धिको आधार तयार गर्ने चरणका रूपमा उल्लेख गर्दै सेयरधनीको विश्वास र समर्थन नै कम्पनीको मुख्य शक्ति भएको बताए । पूँजी वृद्धि र लगानी क्षेत्र विस्तारसँगै मुक्तिनाथ कागबेनी इन्भेस्टमेन्ट कम्पनीलाई राष्ट्रियस्तरको बहुआयामिक लगानी संस्थाको रूपमा विकास गर्ने दिशामा अगाडि बढाइएको उनको भनाइ थियो ।

प्रतिक्रिया