साम्राज्यवादी शक्ति र देश भित्रका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउने योजनामा छन्


-झलनाथ खनाल ।

हामीले फेरि अर्को उथलपुथल र रुपान्तरणको इ. सम्बत् २०२५ लाई पार गरेका छौं र नयाँ तथा व्यापक सम्भावना बोकेको २०२६ मा प्रवेश गरिरहेका छौं । यस महत्वपूर्ण अवसरमा म देश र प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शान्ति, राष्ट्रिय एकता,स्वाधिनता, समझदारी, प्रगति, समुन्नति र समृद्धिका निम्ति हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु ।

आज सिङ्गो विश्वमा उथलपुथल र परिवर्तनका दुवै ऐतिहासिक प्रक्रियाहरू तीव्ररूपले अघि बढ्दै छन् । विश्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन भइरहेको छ । पश्चिमा शक्तिहरूको प्रभुत्व रहेको पुरानो विश्व व्यवस्था सबै क्षेत्रमा विघटन हुँदै गइरहेको छ । नयाँ न्याय र समानतापूर्ण विश्व व्यवस्थाले क्रमशः आकार लिँदै गइरहेको छ । यो परिवर्तन र अन्तरद्वन्दको प्रक्रियाले हर देशलाई कुनै न कुनै रूपमा प्रभावित पारिरहेको छ ।

यही विश्व ऐतिहासिक प्रक्रियाको अभिन्न अङ्गका रूपमा हाम्रो प्रिय मातृभूमि नेपालको राष्ट्रिय परिस्थिति पनि विकास गर्दै आइरहेको छ । नेपाली जनताले वर्षौंदेखि भोग्दै आएको दिशाहिनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक संकट निरन्तर गहिरिँदै गइरहेको छ । त्यही क्रममा “जेनजी आन्दोलन”का नाममा देशी विदेशी प्रतिक्रियावादीहरूले विगत भदौ २४ गते देशव्यापी रुपमा गरेको तोडफोड, आगजानी, लुटपाट र महाविध्वंसले सिंगो मुलुक नै महासंकटको अवस्थामा पुगेको छ । यो महासंकटबाट नयाँ निर्वाचन मार्फत निकासतिर लाने ठूलो चुनौतीको सामना गर्दै गर्दा हामी इ.सम्बतको नयाँ वर्ष २०२६ मा प्रवेश गरेका छौँ ।

अहिले वर्तमान संविधान मिचेर भएपनि नयाँ सरकार बनेको छ र त्यसले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । अवश्य नै निर्वाचनको विकल्प छैन । तर शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको देखिँदैन । निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्ने, मुलुकको सामाजिक–आर्थिक ढाँचामा व्यापक परिवर्तन गर्ने, शिक्षा स्वास्थ्यमा व्यापक रुपान्तरण गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, परराष्ट्र नीतिलाई ट्रयाकमा फर्काउने, सुशासन स्थापना गर्दै भ्रष्टाचारको अन्त्य गर्ने र युवाहरूको लागि रोजगारी सिर्जना गर्ने जस्ता ज्वलन्त तत्कालिक सवालहरू समाधान गर्ने आवश्यकता प्रबल बनिरहेको छ । यी सवालहरू समाधान गर्ने ठोस योजनाका साथ गरिने निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिक समस्या समाधान गर्दै क्रमशः समाजवादतिर अग्रसर हुने बाटो खोल्न सक्छ ।

त्यसका लागि हाम्रो देशका समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नु अनिवार्य हुन्छ । त्यही उद्देश्य प्राप्तिका निम्ति हामीले सत्रवटा बाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौं । यो पार्टी चार आधारभूत सिद्धान्तका आधारमा सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा बाममोर्चामा आबद्ध गर्न दृढ छ ।

हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन्।

आदरणीय जनसमुदायहरू !

हामी विद्यमान परिस्थितिको गम्भीरतालाई बुझौं, बदलिँदो अन्तर्राष्ट्रिय स्थितिलाई बुझौं, नेपाल र नेपाली जनताको समाजवादको आकांक्षालाई बुझौं, तत्काल त्यसलाई विद्यमान महासंकटबाट निकासतिर लान सम्पूर्ण कम्युनिष्टहरू, वामपन्थीहरु, प्रगतिशील शक्तिहरू र देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध बनाऔँ र नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन,सुदृढीकरण र रूपान्तरणको वर्षमा परिवर्तन गरौं ।