डा . जीवन क्षेत्री
यो देश हौसिनेहरुको हैन, आलोचना गर्नेहरुको हो । रास्वपाको समानुपातिक उम्मेदवारहरुको सूची हेरेर मैले आज बिहान अलिकति हौसे किसिमको पोस्ट राखेको थिएँ । सधैंभरि आलोचना गर्दा गर्दै कहिलेकाहीं त ससानो कुरामा पनि सराहना गरिदिऊँ भन्ने लाग्छ, यो त ठुलै कुरा थियो । तर समानुपातिक उम्मेदवारको सूचीमा कसको नाम पर्यो वा परेन भन्नेभन्दा कसको नाम कति प्राथमिकताका साथ पर्यो भन्ने धेरै महत्वपूर्ण हुँदो रहेछ । त्यसमाथि पनि मोबाइल एपबाट भएको पार्टीभित्रको निर्वाचनमा अघि भएकालाई पछि पारिएको अनि उच्च मत पाउनेलाई सूचीमै नपारेको भन्ने जायज गुनासो अहिले चलिरहेको रहेछ ।
खैर, हामी आममानिसले बाहिरबाट हेरेर सुझाव दिने र शुभेच्छा प्रकट गर्नेसम्म हो । यसमा मेरो भन्नु यत्ति होः ओली–देउवा–प्रचण्डले पार्टीभित्रको लोकतन्त्रलाई जसरी लत्याएर पार्टीलाई निजी सम्पत्तिजस्तो बनाए र देशलाई दोहनको निशाना बनाए, त्यो रास्वपाले नदोहोर्याओस् । रास्वपाले कुनै उद्यमी वा व्यापारिक घरानाको मानिसलाई सांसद बनाउँदै गर्दा मानिसले त्यसलाई दुई किसिमले हेर्छन् ।
एक, यो पार्टीले पनि पुराना पार्टीले झैं मोटो रकम चन्दा उठाएर धन्दाका लागि सांसद बनायो जसले स्वार्थको द्वन्द्व हुने गरी आफ्नो स्वार्थमा कानुन बनाउनेछन् । दुई, अहिलेसम्म पेशेवर राजनीतिज्ञ र ठगहरुले चलाएको देशमा अब आफैं उद्यम गरेका, उद्यमका अप्ठेरा भोगेका र उद्यम विकासका लागि ठोस नीति निर्माण गर्ने क्षमता बोकेका मानिस संसदमा पुग्ने भए ।
यीमध्ये यथार्थ कुन हो समयले बताउला तर अहिले नै हतारिएर पार्टीलाई र उसले अघि सारेका उमेदवारहरुलाई दोष दिने पक्षमा म छैन । पहिलो कुरा सही रहेछ भने त्यसका लागि भोलि अहिलेका एमाले र काँग्रेसझैं रास्वपा पनि दण्डित हुनेछ । दोस्रो सही रहेछ भने पुरस्कृत हुनेछ ।

प्रतिक्रिया