-नारायण पौडेल
पत्रकार विजयकुमारको अपीलबाट कुरा शुरु गरौंः गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जानु कांग्रेसका लागि उत्तम विकल्प हो, तथापि गगन पार्टी सभापतिका लागि अझै तयार भैसकेका छैनन् । सेतोपाटीदेखि कान्तिपुरका समाचार, विचार र सम्पादकीयको अन्तर्य एउटै छ– कांग्रेसको तारणहार केवल गगनमात्र हुन् !
गगनकै कुरा गरौं । नवयुवाको आन्दोलन अघिसम्म गगन प्रष्ट थिए– देउवालाई छैठौं पटक प्रधानमन्त्री बनाउने, उनकै नेतृत्वमा आम निर्वाचन गर्ने र त्यसपछि देउवाले ग्रेसफूल एक्जिट गर्ने । ओली–देउवाको संशयपूर्ण गठबन्धनका रक्षाकवच भएर गगन प्रस्तुत भएका थिए । भुटानी शरणार्थीबारे चलिरहेको छानबिन र अभियोजन प्रभावित गर्नु देउवाको बाध्यता रहेको र सोही बाध्यताको फाइदा उठाउँदै ओली प्रधानमन्त्री बनेको भाष्य जबरजस्त स्थापित भएको थियो । प्रचण्ड प्रधानमन्त्री र रवि गृहमन्त्री रहेको सरकार विस्थापन गर्न देउवा रातारात बालकोट पुगेको र ओलीले तत्क्षण कित्ता परिवर्तन गरेको दृश्य अस्वभाविक थियो, भलै संवैधानिकरुपमा कुनै छेकबार थिएन । यस्तो परिदृश्यसहित फगत २ नेताको मिलिभगतमा बदलिएको समीकरणको स्वामित्व लिन गगन थापा किञ्चित हच्किएनन्, गठबन्धनको रक्षाकवचका रुपमा प्रस्तुत भए । कुनैबेला आफैंले किर्तेप्रसाद करार गरेका ओलीबाट कीर्तिमानी काम हुने विश्वास दर्शाए । सरकार संचालनका लागि गठित संयन्त्रमा आफैं रहे ।
सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि धरपकड गर्यो । विभिन्न ठाउँमा विभिन्न शीर्षकमा अभियोजन थाल्यो । बाघ पनि कराउने बाच्छो पनि हराउने भनेजस्तो भुटानी शरणार्थीको अनुसन्धान धिमा हुँदै गयो, रविलाई अनुसन्धानका लागि देश दौडाइयो । रवि प्रधानमन्त्री बन्न राजी नभएपछि कांग्रेसले राजनीतिक प्रतिशोध साँध्न अनाहकमा सहकारीको मुद्दा उरालेको बताउने ओलीको बोली प्रधानमन्त्री भएपछि पूरापूर फेरियो । कानूनी दृष्टिले सही बेठीक निक्र्यौल हुन बाँकी छ, तर रविमाथि कानूनको अचाक्ली प्रयोग भएको कुरा गगनकै सहयात्रीहरुबाट सार्वजनिकरुपमा व्यक्त भयो । सहकारी ठग भन्दै ओलीले रविमाथि बिल्ला गर्न थाले । हिजोआज राज्यले आफूहरुमाथि प्रतिशोध साँधेको बताउने गरेका ओली रविको हकमा भन्थे–राज्यबाट प्रतिशोध भन्ने हुँदैन ।
ओली भन्दा दुई कदम अघि थिए–गगन । उनले रविले सहकारी ठग्न दिएको आवेदन देखाउ भन्दै संसदमा कागज देखाएका थिए । भलै आज प्रयन्त उनले सो कागज सार्वजनिक गरेका छैनन् । रविले सहकारी ठगी गरेको प्रमाणित नभएमा राजनीति छाड्ने उद्घघोषसमेत गरे । रविका विरुद्ध आगो ओकलेका गगन सहकारीसम्बन्धी उस्तै अन्य मुद्धा र पात्रबारे नरम सुनिए । रातारात राजनीतिमा रबि उदाउँदा आशा गरिएका ठूला दलका युवा नेताहरुको ओझ घटेको थियो । गगन त्यही कारणपनि राँक्किएकी भन्ने पनि धेरै निस्किए ।
सहकारीको पैसा अपचलनमा रवि प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएको कुरा जति स्थापित छ,उनलाई राजनीतिबाट विस्तापित गर्न दूई ठूला दलले जायज÷नाजायज प्रयास गरे भन्ने कुरा पनि उत्ति नै स्थापित हुन पुग्यो । यो प्रयासका सुत्रधार देउवा भएपनि मुखर सारथीका रुपमा देखिए ओली र गगन । अदालतको भूमिकाबारे प्रश्न उठिरहेको सन्दर्भमा गगनले सार्वजनिकरुपमा बौलिदिए–प्रधानन्यायाधीश हिजोसम्म एउटै कमिटीमा बसेको हो, दाइदाइ भनेर बोलाएकै हो ।
देश चरम भ्रष्टाचार, बेरोजगारी, राजनीतिकरण, निराशा, उकुसमुकुस र विदेश पलायनजस्ता पीडादायी प्रवृत्तिबाट गुज्रेको धेरै भयो । देशले बेलाबेला ठूलठूला सपना देख्यो– बहुदल आउँछ अनि ठीक हुन्छ, शान्ति स्थापना भएसी देश स्विजरल्याण्ड बन्छ, गणतन्त्र आएसी नयाँ नेपाल हुन्छ, संविधान बनेपछि देश सही मार्गमा हिँड्नेछ । सबै आयो तर देशको सार फेरिएन । व्यवस्था फेरिएपनि अवस्थामा अपेक्षित परिवर्तन आएन ।
यही उकुसमुकुसबारे आवाज बुलन्द गर्दै टेलिभिजनको पर्दामार्फत रविले राजनीतिमा चमत्कारिक फड्को हानेका थिए । अनेकन विवाद र जवरजस्त उल्झनमा जनताले उनलाई आँखा चिम्लिएर साथ दिए । सहकारी प्रकरणमा पनि जबरजस्त मानसिकता पैदा भैदियो– अरुले अर्बौँ बजाए, यसले खाएकै रैछ भने पनि करोड खाए होला । अर्बौं बजाउनेले करोड खानेलाई सिद्धाउन खोजेका हुन् ।
दुई ठूला दल मध्य एक सत्तापक्ष र अर्को प्रतिपक्ष भएको भए असन्तुष्टिलाई छेकबार गर्न सजिलो हुन्थ्यो । दुबै दल एकै ठाम उभिएपछि आक्रोशको बाँध फुट्ने स्थिति बन्यो । त्यसमाथि ओलीका अभिव्यक्तिले आक्रोशको पारो बढाउन उत्प्रेरकको काम गरे । कुनैबेला पार्टी–सत्ता र राज्यसत्ता बिरुद्ध गगनभेदी हुँकार गर्ने गगन रविमै अल्झिए । राजनीतिकरुपमा रविको सैद्धान्तिक र निष्ठाको जगबारे प्रश्न अनेक हुनसक्छन् । तर आफू पनि राम्रो गर्दैनन् राम्रो गर्न खोज्नेलाई पनि पूराना दलले गर्न दिदैनन् भन्ने छाप पार्न रवि टिम सफल दरियो ।
यि सबै घटनाक्रममा घानमा परे गगन थापा । घान देउवाको, सरकार ओलीको, बक्रा गगनजस्तो देखियो । राजनीतिका अविजित खेलाडी गगन रक्षात्मक स्थितिमा पुगे । उनले उठेर जित्ने निश्चित क्षेत्र स्पष्ट छैन । नवयुवाको आन्दोलनका क्रममा रामधुलाई भेटेपनि देउवाका लागि डडेल्धुरा दाहिनै छ । झन् सहानुभुति बढेको बताइन्छ । ओलीका लागि झापा छककदैछ । निर्वाचम क्षेत्र फेरिरहने प्रचण्डका लागि सम्भवतः सिन्धुली पर्खिरहेको छ ।
संविधानतः प्रत्यक्ष निर्वाचित सांसदमात्र प्रधानमन्त्री हुनेछ । गगन जसको आफैं जितिहाल्ने स्पष्ट चित्र छैन, उनैको नेतृत्वमा कांग्रेस चुनावी दौडमा जानुपर्ने मार्गचित्र दाइ सम्पादकहरुबाट अघि सारिएको छ । पार्टीको संसदीय दौडमा नेतृत्व लिन नपाए उम्मेदवार नबन्ने गगनको भित्री मेसो छ । बहालवाला महामन्त्री पार्टीको असफल कार्यकाल र नीतिका लागि सभापतिलाई दोषारोपण गरेर उम्कन नपाइने आवाज शेखर कोइरालासमेतले जोडतोडले उठाउन थालेका छन् । यसपालि गगन चुनावमा उठेनन् वा उठेर पनि पराजित भए भने उनको राजनीति सम्भवतः निष्क्रियउन्मुख हुनेछ । किनकी उनी आफैंले एक दशक अगाडि घोषणा गरेका थिए–५५ लागेका दिन, झोला टिप्ने हो, सक्रिय राजनीतिबाट टाप कस्ने हो ! गगन ५५ पुग्न अब धेरै बाँकी छैन !

प्रतिक्रिया