काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुट त्याग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा सगरमाथा आरोहीहरुलाई पार्टी प्रवेश गराउँदै पौडेलले गुटको राजनीति त्यागेर सिंगो कांग्रेस बलियो बनाउनेतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले कांग्रेसभित्रको गुटकै कारण यसअघिको निर्वाचन पराजय भोग्नुपरेको तर्क गरे । कांग्रेसका बारेमा जनतामा गलत अपवाह प्रवाह भएको भन्दै कांग्रेसमा निष्ठावान् सच्चा इमेज भएका मान्छेहरु हुँदाहुँदै पनि कांग्रेसको छवि जनताका बीचमा राम्रो नभएको बताए । पौडेलले संविधान र गणतन्त्र ल्याउने नेतृत्व कांग्रेसले गर्ने तर कार्यान्वयन गर्ने बेला कम्युनिष्टको हातमा सत्ता जानु बिडम्वना भएको बताए ।
उनले आगामी महाधिवशेनलाई लोकतान्त्रिक मूल्यमान्यता अनुसार अघि बढाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले कोरोनाका कारण मुलुकको अर्थतन्त्र धराशायी भइरहेका बेला सरकार र सत्तारुढ दल नेकपा भने संवेदनशील नभएको आरोप लगाएका थिए ।

प्रतिक्रिया