भदौ २३ र २४ को घटना नेपालको इतिहासमा तेस्रो प्रतिक्रान्ति : रामबहादुर थापा ‘बादल’


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गते भएको घटना तेस्रो प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले २००७ सालको परिवर्तनलाई १७ सालमा महेन्द्रले उल्ट्याएर पहिलो प्रतिक्रान्ति गरेको बताए ।

तर त्यसलाई २०४६ सालमा नागरिक सरकार बने पनि त्यसपछि २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेर दोस्रो प्रतिक्रान्ति गरेको भन्दै २०८२ भदौको घटना तेस्रो प्रतिक्रान्तिका रूपमा पार्टीले व्याख्या गरेको बताए ।

‘बादल’ले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् । उनले सिंगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।

‘विधान संशोधन गरेर भए पनि एकताको महाविधेशन । पार्टीभित्र एकअर्कालाई निषेध गरेर जान हुँदैन । अहिलेको आवश्यकता पार्टीलाई सुदृढ गर्ने, नेतृत्वको रक्षा गर्ने हो ‘, उनले भने ।

उनले पार्टी र देशका लागि केपी शर्मा ओलीको आवश्यकता भएको बताए । प्रतिक्रान्तिलाई परास्त गर्न ओलीको आवश्यकता रहेको भनाइ उनको छ ।

बादलले भने, ‘नेतृत्वको रक्षा गरेर मात्र प्रतिक्रान्तिकारी षड्यन्त्र चिर्न सकिन्छ ।’

‘जेलेन्स्कीहरुको सरकार बनाएर प्रतिक्रान्तिले वैधता पाउँछ भनेर प्रतिगामीहरू अघि बढेका छन्’, नेता थापाले भने, ‘यस्तो अवस्थामा मुख्य दलहरूको महाधिवेशन हुन लागेको छ । यहाँबाट शीर्ष नेतृत्व विस्थापित गर्ने र अनुकूलको नेतृत्व स्थापित गर्ने रणनीति प्रतिगामीहरूको छ ।’

ओलीले एमालेलाई सर्वाधिक लोकप्रिय बनाउन योगदान गरेको थापाले बताए । पार्टीमा आफ्नो भूमिका पनि आवश्यक भएको थापाको भनाइ छ । ‘नेतृत्वको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहना छ’, थापाले भने ।