ट्रम्पद्वारा डेमोक्रेटिक पार्टीका सांसदलाई माफी


वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिएका छन् ।

ट्रम्पले टुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “म यो घोषणाद्वारा टेक्सासका मेरो प्रिय सांसद हेनरी कुएलरलाई बिना शर्त पूर्ण आममाफीको घोषणा गर्दैछु । म तपाइलाई चिन्दिनँ, तर तपाइ आज राति राम्रोसँग सुत्न सक्नुहुनेछ । तपाईँको भयानक सपना अन्तमा समाप्त भएको छ।”

कुएलर र उनकी श्रीमतीले अजरबैजान सरकारको आंशिक स्वामित्वमा रहेको तेल र ग्यास कम्पनीबाट सयौं हजार डलर घूस लिएको अभियोजनकर्ताहरूको आरोपको आधारमा षड्यन्त्र र घूसखोरीको धेरै आरोपहरूको सामना गरिरहेका छन् ।

कुएलर दम्पतीले ती आरोपहरूको खण्डन गर्दै आएका छन् । उनीहरूले उक्त मुद्दामा अप्रिलदेखि कानुनी लडाई लड्दै आएका थिए ।

कुएलरले एक्समा एक पोस्ट गर्दै माफीको जवाफमा भनेका छन्, “म राष्ट्रपति ट्रम्पलाई उहाँको जबरदस्त नेतृत्व र तथ्यहरू हेर्नको लागि समय निकाल्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु।”

ट्रम्पले पूर्व राष्ट्रपति बाइडेनको प्रशासनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध न्याय प्रणालीलाई प्रयोग गरेको बताएका छन्। तर यसको प्रमाणका लागि कुनै तथ्य भने पेश गरेका छैनन् ।

आफ्ना विगतका कानुनी समस्याहरूलाई राजनीतिक वदलाका भावले प्रकट गरिएको भन्दै ट्रम्पले यस वर्ष दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेदेखि धेरै उच्च ओहोदाका व्यक्तिहरूको मुद्दामा सजाय मिनाहको घोषणा पनि गरेका छन् ।