काठमाडौं । सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी–अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तिय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सील नेपालको अध्यक्षमा डा कुमार शर्मा आचार्यलाई मनोनित गर्ने, कार्वन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र बैंकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

प्रतिक्रिया