अध्यक्ष कमरेड केपी ओलीलाई अनुरोध
नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । जरूरी कामका कारण म यो बैठकमा उपस्थित हुनसकेको छैन । अनुपस्थितिको जानकारी पहिले नै गराएको छु । मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गैरहेको छ । लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनिरहेको छ । यस्तोबेलामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण सहित बलियो एकता निर्माण गरी उपरोक्त कार्यभार पुरा गर्न अग्रसरता लिनु पर्दछ ।
असोजको पहिलो हप्तामा सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा हामीले यसबारेमा प्रयाप्त मात्रामा कुरा उठाएका थियौँ । पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने र वडा तथा पालिका तहका अधिवेशन आयोजन गर्ने निर्णय गरेको छ । संगठनात्मक प्रक्रिया मार्फÞत पार्टीलाई गतिशील बनाउने तथा आन्तरिक तथा राष्ट्रिय महत्वका विषयमा छलफलका गरी सकारात्मक निष्कर्षमा पुग्न यो निर्णयले मद्दत गर्ने अपेक्षा गरिन्छ ।
केन्द्रीय कमिटीको उक्त बैठकमा केन्द्रीय सदस्यको मनोनयन गर्दा ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिने, स्थायी कमिटी र पोलिटव्यूरो निर्माण गर्दा नयाँ र पुरानाको संमिश्रण सहित स्पष्ट मापदण्ड बनाएर निर्णय गर्न कुरा उठाइयो तर निर्णयले उक्त भावलाई बोक्न नसक्दा सकारात्मक उर्जा पैदा हुनसकेन ।
जारी स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटव्यूरो गठनको एजेण्डा रहेको सन्दर्भमा म निम्न विषयमा पार्टी अध्यक्षको ध्यानाकर्षण गर्दछु ।
-बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवाहरूलाई विशेष स्थान दिने र बिगतमा छुटेका भूगोल र समुदाय तथा आन्तरिक सन्तुलनलाई ख्याल गरी मनोनयन गर्ने ।
-स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दा पुराना र नयाँको सन्तुलन मिलाउने ।
-आसन्न निर्वाचनसहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो शर्त हुनेछ । पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय ‘हतारमा निर्णय र फुर्सदमा पछुताउनु’ सरह हुनेछ । त्यो अवस्थामा केन्द्रीय कमिटीको मनोनयन, स्थायी कमिटी र पोलिटव्यूरो गठनको एजेण्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त हुनेछ ।
-योगेशकुमार भट्टराई, उपमहासचिव, नेकपा एमाले

प्रतिक्रिया