प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहनेलाई रक्षा बमको सुझावः घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न जानुुस्


-रक्षा बम ।

केही स्वार्थसमूहबाट प्रेरित मानिसहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन” सँगै ‘तत्काल संविधान संशोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमाइरहेको हल्ला छ । गत शुक्रबार मात्र, प्रधानमन्त्री र एमाले नेताहरूबीच भएको भेटमा पनि यस ड्राफ्टबारे कुरा उठेको भनेर नेपालप्रेसले समाचार समेत बनाएको छ । स्पष्ट पारौं यस्तै ड्राफ्ट पछिल्लो समय मात्र नभई, सेप्टेम्बर ९ तारिख अर्थात् भदौ २४ को दिनदेखि नै मानिसहरुको हातहातमा पुगिरहेको थियो । हामीले पटक पटक यस बिषयमा अबरोध गरेका नै हौं ।
नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होइन । वर्षौको समय र हजारौंको बलिदानपश्चात बनेको संविधान हो यो । केही स्वार्थप्रेरित मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संशोधनको मुद्दा उठाइरहेका छन् र यसबारेमा राम्रोसँग थाहै नभएका जेनजी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् । विभिन्न समूहका जेनजी साथीहरुसँग यसबारेमा छलफल हुँदा पनि हामीले यी कुराहरु उठाएका थियौं÷छौं। जेन जी साथीहरुले मात्र नभई समाजलाई विभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिँडेको हामीले थाहापाएका छौं। कतिपय जेनजी साथीहरु त आन्दोलनमा समेत आउनुभएको थिएन । र कतिपय साथीहरुलाई त संविधान भनेको के हो समेत थाहा थिएन । उहाँहरुलाई लाग्छ, यो व्यवस्था उल्टाउने बित्तिकै जादुको छडी घुमाएजसरी सबैथोक एकै रातमा परिवर्तन भइहाल्नेवाला छ ।

तर हेक्का रहोस्, देश भनेको जादुको छडीले चल्ने चीज होइन । देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ । उल्लिखित मुद्दाहरुको बिषयमा व्यापक छलफल हुनु जरुरी छ । हामी संविधान पुनरावलोकनको पक्षमा नै छौं तर त्यसका लागि जनादेश जरुरी छ । हामी लोकतान्त्रिक विधिलाई मान्दछौं । संविधान संशोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी बिषयहरुलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ । त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।

यस संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरु होसियार । छोटो बाटो खोजेर, देशलाई थप अनिश्चितता तर्फ धकेल्नका लागि खेलिने हरेक खेलको हामी बिरोध गर्नेछौं र डटेर सामना गर्न पनि तयार छौं । साथसाथै, यस नागरिक सरकारको लागि आन्दोलनले स्पष्ट म्यान्डेट दिईसकेको छ । र नागरिक सरकार कुनैपनि हालतमा आन्दोलनको म्यान्डेटभन्दा बाहिर जाँदैन÷जान पाउँदैन भन्ने कुरामा हामी विस्वस्त छौं ।