काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छाड्नु खतरनाक हुने बताएका छन् । अयोध्याकाबारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै भट्टाराईले ओलीका बारेमा उपचार खोज्नुपर्ने बताएका छन् ।
भट्टराईले ट्वीट गरेका छन्,‘ अति गरे खति हुन्छ भन्छन् ! प्रम केपी शर्मा ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् । संसदमा ‘सिंहमेव जयते’र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत उहाँको हातमा छ ! अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं!’

सोमबार आयोजित एउटा कार्यक्रममा ओलीले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन।’
प्रधानमन्त्री ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्।
“यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कसले के गर्या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल! कताबाट थाहा होस्! थाहा हुन पनि सम्भव थिएन,“ उनले भनेका छन् ।

प्रतिक्रिया