-शारदाप्रसाद त्रिताल
जेनजी युवाहरु, अब तपाईँहरु जवाफ दिने ठाउँमा हुनुहुन्छ नि ! तपाईँहरुको छोटो तर प्रभावशाली आन्दोलन दशकौंदेखि भ्रष्टाचार र अहंकारको पर्याय बनेका नेताहरुलाई धुलिसात गराउन सफल भयो । यो ज्यादै ठूलो सफलता हो । तथापि, तपाईँहरुको आन्दोलनमा भएको घुसपैठका कारण राष्ट्रको सम्पत्तिमा धेरै ठूलो हानी नोक्सानी पनि भयो । तपाईँहरुको सिफारिसमा बनेको सरकार छ । त्यसर्थ, अब तपाईँहरु प्रश्न सोध्ने होइन, कुरा सुन्ने र जवाफ दिने ठाउँमा हुनुहुन्छ ।
अब तपाईँहरुको बोली र व्यवहारमा शालिनता, सहनशिलता, वस्तुपरकता र सहयोगी तथा समन्वयात्मक भाव हुनु र देखिनु आवश्यक छ । आग्रह, पूर्वाग्रह अव त्याग्नुहोस् । धाकधम्की, तुक्कातुक्की र अहंकारपूर्ण बोली र व्यवहार देखाउने जिम्मेवारी गुण्डु कुटीवालाहरुलाई नै छाडिदिनुहोस् । अब तपाईँहरुको जिम्मेवारी आफ्नै सरकारलाई सघाउने र सजग गराउने हो । तपाईँहरुको आन्दोलनको मिसन भ्रष्टाचारको नियन्त्रण र सुशासन थियो । त्यसको लागि तपाइँहरुले सरकारलाई सोही अनुसार काम गर्न सहयोग र सजग गराउनुपर्छ ।
सर्वप्रथम, मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गराउन ढिला भइसकेको कुरा सम्झाउनु होस् । भ्रष्टाचार नियन्त्रण र सुशासनको पहिलो कदम यही हो । यो भएन भने सरकारप्रतिको जनविश्वास नकारात्मक हुँदै जान्छ र परिस्थिति नियन्त्रण बाहिर पनि जान सक्छ भन्ने कुरामा हेक्का राख्नुहोस् ।
दोस्रो विषय, भ्रष्ट नेता तथा अन्य अवैध सम्पत्तिवालाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि विलम्ब भइरहेको छ । यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ । सरकारले पाएको म्यान्डेट अनुरुप स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित निर्वाचन गर्न, गराउन उपयुक्त वातावरण निर्माण गर्ने तर्फ ध्यान दिनुहोस् । यसका लागि तपाईँहरुका बीचमा नै विश्वसनीय एकता देखिनु आवश्यक छ । पुराना दलहरुमा जस्तो गुट, उपगुटमा विभाजित भएर ङारङारङुरङुर गर्नतिर लाग्नुभयो भने तपाईँहरुको आन्दोलनको औचित्यमा नै प्रश्न उठ्ने छ । सबै दलका युवा र इमान्दार नेता तथा कार्यकर्तासँग छलफल र अन्तरक्रिया गर्ने व्यवस्था मिलाउनुहोस् ।
मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी सबै योग्य मतदातालाई सहयोग गर्नुहोस् । तपाईँहरुको मिसनमा सफलता पाउने एउटा महत्वपूर्ण हतियार आगामी निर्वाचन हो । त्यसपछि तपाईँहरुले चाहे अनुरुपको सरकार बन्न सक्ने आधार यही नै हो ।

प्रतिक्रिया