सार्वजनिक यातायात संचालन गर्न दिने सरकारको निर्णय


काठमाडौँ । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात संचालन गर्ने दिने निर्णय गरेको छ । असार २३ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक सवारी चलाउन दिने तथा अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको जानकारी दिएका छन् ।
सार्वजनिक सवारी साधनमा बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर संचालन गर्न पाइने छ । त्यसबापत सवारी साधनले साबिकको भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।

त्यस्तै यात्रु बोक्दा चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ भने सवारीसाधनको ढोका र भित्र सेनिटाइजर राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सवारीसाधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्ने छ ।

यसअघि ट्याक्सीमा चालकबाहेक दुई जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा राख्न पाइनेछ । भाडादर भने पुरानै कायम छ । ट्याक्सीहरु तत्कालैबाट सञ्चालन भएपनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने खतिवडाले बताए ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । सो रकमबाट देशभरीका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धिको काम अघि बढ्ने खतिवडाले जानकारी दिए ।