काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल पराजित भएको छ । युएईसँग भएको बिहीबारको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको २३४ रनको लक्ष्यलाई युएईले ४३ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै पूरा गरेको छ । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए ।
अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।
रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।

प्रतिक्रिया