झापामा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम


झापा ।  झापामा १५ देखि २२ कात्तिकसम्म हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दूधे रंगशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताए । उनले रंगशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको जानकारी दिए ।

शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रंगशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताए । झापाको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गरिरहेको उनले बताए ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, अन्य तीनवटा ए–डिभिजन क्लब र भारत, भुटानलगायत देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई १० लाख नगद र उपविजेतालाई ५ लाख नगद पुरस्कार दिइने बताइएको छ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई रु २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई १५ हजार नगद प्रदान गरिने जनाइएको छ ।