भारत–भुटानबीच व्यापार, कनेक्टिभिटी र जनस्तरको सम्बन्धबारे उच्चस्तरीय वार्ता


थिम्पू । भारतका विदेश सचिव विक्रम मिस्रीले भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेसँग थिम्पूमा भेटवार्ता गर्दै कनेक्टिभिटी, जलविद्युत्, व्यापार–वाणिज्य तथा जनस्तरको सम्बन्धलगायतका विविध विषयमा गहन छलफल गरेका छन् ।

प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत विदेश सचिव मिस्रीसँगको भेटलाई हर्षजनक अनुभव बताउँदै दुई देशबीचको सहकार्य अझ सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको उल्लेख गरेका छन् ।

यसअघि, विदेश सचिव मिस्रीले भुटानका राजासँग शिष्टाचार भेट गरेका थिए भने भुटानका विदेशमन्त्रीसँग पनि द्विपक्षीय मुद्दामा छलफल गरेका थिए ।

भुटानस्थित भारतीय दूतावासले एक्समा लेखेको छ, “प्रगति र विकासका लागि सँगै ।” सन् २०२५ अक्टोबर ३ मा सम्पन्न भ्रमणलाई नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता भन्दै दूतावासले दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई समेट्ने अवसरको रूपमा उल्लेख गरेको छ ।

भारत र भुटानले आपसी विश्वास, सद्भाव र समझदारीमा आधारित ऐतिहासिक सम्बन्ध साझा गर्दै आएका छन् । ऊर्जा, पूर्वाधार तथा सांस्कृतिक आदानप्रदानमा निरन्तरता दिँदै दुवै देशले सहकार्यका नयाँ सम्भावनाहरू खोजिरहेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार, भारत–भुटान सम्बन्ध विशिष्ट र अनुकरणीय मानिन्छ । औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६८ मा स्थापना भएको हो भने दुई देशबीचको ऐतिहासिक मित्रता सन् १९४९ मा हस्ताक्षर भएको सन्धिमा आधारित छ, जसलाई फेब्रुअरी २००७ मा पुनः अद्यावधिक गरिएको थियो ।