बीबीसी । रुसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य राष्ट्रहरूसँग परामर्शका निम्ति अनुरोध गरेको छ ।
इस्टोनियाको विदेश मन्त्रालयले उक्त रुसी कार्यलाई ’ठाडो’ अतिक्रमण भनेको छ । तीनवटा रुसी मिग–३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा ’विना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म’ फिनल्यान्डको खाडीमाथिको सो क्षेत्रमा रहेको उसले बताएको छ ।
नेटोका एकजना प्रवक्ताले नेटो सैन्य गठबन्धनले ‘तत्कालै प्रतिक्रिया जनाउँदै ती रुसी विमानलाई धपाएको’ उल्लेख गरे। उक्त घटनालाई उनले रुसको जथाभावीपूर्ण व्यवहारको अनि नेटोको तत्काल प्रतिक्रिया जनाउने क्षमताको अर्को उदाहरण भनेका छन् ।
नेटोको पूर्वी मोर्चा सुदृढ पार्ने अभियान अन्तर्गत तत्कालै इटली, फिनल्यान्ड र स्वीडनका जेटहरू परिचालन गरिएका थिए । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रुसबीच तनाव बढिरहेको छ ।
गत साता उक्त तनाव झनै बढ्यो जब पोल्यान्ड र रुमेनियाका हवाई क्षेत्रलाई रुसी ड्रोनहरूले लगालग उल्लंघन गरे । ती दुवै देश नेटोका सदस्य राष्ट्र हुन् । उक्त घटनाको प्रतिक्रियास्वरूप नेटोले उसका लडाकू विमानसहितका सैन्य उपकरण पूर्वी मोर्चा सुदृढ बनाउन परिचालन गर्ने वाचा गरेको थियो ।
रुसको विदेश मन्त्रालयले आफ्ना विमान ‘पूर्व निर्धारित उडानमा रहेको’ अनि ‘अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको सिमाना नमिचेको’ बताएको छ । उसका अनुसार ती विमान तटस्थ बाल्टिक सागर क्षेत्रमाथि उडेका तथा इस्टोनियाली भाइन्डलु टापुभन्दा ३ किलोमिटर पर रहेका थिए।

प्रतिक्रिया