बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासको नियन्त्रणमा बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र ‘इजरायललाई मान्य हुने’ शर्तमा गाजा युद्ध अन्त्य गर्ने विषयमा वार्ता थाल्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएको बताएका छन् ।
अन्तर्राष्ट्रियस्तरमा र देशभित्रै विरोध भइरहँदा गाजा सिटीमा भीषण हमला गर्ने योजनालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको पनि बिहीबार राति उनले इजरायली फौजहरूलाई बताए । कतार र इजिप्टका मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम गराउने प्रयत्न अहिले गरिरहेका छन् ।
६० दिने युद्धविराम गर्ने अनि आधा जति बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव उनीहरूले प्रस्तुत गरेका छन्, जुन प्रस्तावलाई हमासले सोमबार स्वीकार गरिसकेको छ । तर त्यसप्रति पहिलो पटक प्रतिक्रिया जनाउँदै नेतन्याहूले वार्ताका लागि गरिएको प्रस्ताव स्वीकार गरेनन् । एक इजरायली अधिकारीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले वार्तास्थलको टुङ्गो लाग्नासाथ नयाँ वार्ताका लागि वार्ताकारहरू त्यसतर्फ लाग्ने जनाएका छन् ।
बिहीबार राति गाजा डिभिजन मुख्यालय पुगेका नेतन्याहूले ‘हाम्रा सबै बन्धकहरूको रिहाइका लागि तत्काल वार्ता थाल्न वार्ताकारहरूलाई निर्देशन दिएको’ एउटा भिडियो वक्तव्यमार्फत् बताए ।
‘गाजा सिटीमाथि नियन्त्रण गर्ने तथा हमासलाई परास्त गर्ने आईडीएफका योजनालाई अनुमोदन गर्न म यहाँ आएको हुँ । हमासलाई पराजित गर्ने र सबै बन्धकहरू रिहा गर्ने कुरा एकसाथ अगाडि बढ्नुपर्छ,’ नेतन्याहूले भने ।
इजरायली अधिकारीहरूले सबै ५० जना बन्धकहरूको रिहाइमा जोड दिँदै आंशिक रूपमा बन्धकहरूको रिहाइ गराउने सम्झौता स्वीकार नहुने बताउँदै आएका छन् । २२ महिनादेखि जारी युद्धबीच अब बाँकी ५० जना बन्धकहरूमध्ये अब २० जना जीवित रहेको हुनसक्ने इजरायलको विश्वास छ।

प्रतिक्रिया