भारत र चीनबीच भएको सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दल एक स्थानमा उभिनुपर्छः गगन थापा


काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनबीच लिपुलेक नाका भएर व्यापार सञ्चालन गर्नेगरि गरेको सहमतिप्रति पार्टीको गम्भीर असहमति रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले नेपाललाई वेवास्ता गर्दै दुई देशले गरेको सहमति स्वीकार्य नहुने बताएका हुन् । उनले दुई देशबीच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ । नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। स्वीकार्य छ । सम्झौताबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’

नेपालको सहमतिबिना केही दिनअघि भारत र चीनले लिपुलेक नाकालाई दुई देशको आपसी व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्ने निर्णय गरेका थिए।