लिपुलेक सहमति उच्चस्तरको कूटनीतिक संवादबाट समाधान गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौं । नेकपा एमालेले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताए ।

उनले एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्ने बताए । उनले भने, ‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबीच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ। एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छौँ । हाम्रो देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि कतैबाट आघात पुग्ने गतिविधि हुन्छ भने हामी प्रतिवाद गर्छौँ, सशक्त विरोध गर्छौँ। यो विषयमा उच्चस्तरको कूटनीतिक संवादबाट यो विषयको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

उनले भूगोल र जनसंख्याको हिसाबले देशहरू सानोठूलो हुनसक्ने भए पनि देशको स्वाधीनताको हिसाबले सानोठूलो नहुने बताए।