उत्तरी पाकिस्तानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो


इस्लामाबाद । पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको छ । अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्।

पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको छ, धेरै बासिन्दा भग्नावशेषमा फसेका छन् भने कैयौँ बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार साँझदेखि अहिलेसम्म ३५६ जनाको मृत्यु भएको छ ।

आसपासका क्षेत्रमा दर्जनौं मानिसको मृत्यु भएपछि पछिल्लो पाँच दिनमा मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको छ ।

खैबर पख्तुनख्वाको अति प्रभावित दलोरी गाउँमा उद्धारकर्ताहरूले हराइरहेका मानिसहरूको शव फेला पार्ने आशामा माटो र ढुङ्गाको थुप्राहरू खनेर उद्धारप्रयासलाई निरन्तरता दिएका छन् ।

भीषण वर्षाका कारण खोजी कार्य रोकिएको एक दिनपछि उद्धारकर्मीहरूले काम गरिरहेको बेला गाउँलेहरू हेरिरहेका र प्रार्थना गरिरहेका थिए। प्रत्यक्षदर्शीहरूले भनेका छन्, ‘२० मिनेटभन्दा कम समयमा हाम्रो गाउँ भग्नावशेषमा परिणत भयो।’