पुटिनसँगको शिखर वार्तामा युक्रेनलाई सहभागी गराउन ट्रम्पलाई युरोपेली नेताहरुको आग्रह


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बुधबार भएको भर्चुअल बैठकपछि युरोपेली नेताहरू सतर्क तर आशावादी देखिएका छन् । उक्त बैठकमा ट्रम्पले शुक्रबार हुने रुससँगको शिखर बैठकको लक्ष्य मास्को र कीभबीच युद्धविराम गराउनु रहेको बताएका थिए।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनका अनुसार, ट्रम्पले कुनै पनि भू–सीमासम्बन्धी निर्णय युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सहभागितामा हुनुपर्ने र सुरक्षा सुनिश्चितता सम्झौतामा समावेश हुनुपर्नेमा सहमति जनाएका छन्।

अलास्कामा हतारमा तय गरिएको उक्त शिखर बैठकमा युरोपेली पक्षलाई सहभागी गराइएको छैन । यस कारण उनीहरूको फोनवार्ता युक्रेनका हित र युरोपको सुरक्षालाई ट्रम्पको प्राथमिकतामा राख्ने अन्तिम प्रयासका रूपमा गरिएको हो ।

बैठकपछि ट्रम्पले वार्तालाई ‘१० मध्ये १०’ अंक दिँदै रुसले युद्ध रोक्न नसके ‘अत्यन्त कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

तर, युरोपेली नेताहरूले अन्तिम निर्णयमा कीभको सहभागिता अनिवार्य रहेको दोहोर्याउँदै पुटिनले युद्धविरामको सर्तमा युक्रेनी भूमि त्याग्न ट्रम्पलाई राजी गराउन सक्ने आशङ्का प्रकट गरेका छन् ।

‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको युरोपले डोनाल्ड ट्रम्पलाई रुसमाथि विश्वास गर्न नहुने कुरा बुझाउनुपर्छ,’ पोल्याण्डका डोनाल्ड टुस्कले भने। जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि, ‘पछिल्ला बैठकहरू सुरु हुने बित्तिकै युक्रेनलाई वार्तामा सहभागी गराउनुपर्ने स्पष्ट गरिसकेका छौँ,’ भनेका छन्।

रुसले कुनै सम्झौता गर्न अस्वीकार गरे ‘अमेरिका र हामी युरोपेलीहरूले दबाब बढाउनु पर्छ र बढाउनेछौँ,’ मर्जले चेतावनी दिएका छन्।