वाशिङ्टन डीसीमा नेशनल गार्ड परिचालन


वाशिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हिंसात्मक अपराध नियन्त्रण बाहिर रहेको दाबी गर्दै नेशनल गार्ड सैनिक परिचालन र सहरको प्रहरी बलमाथि नियन्त्रण लिएपछि राजधानीका सडकमा सैनिकको उपस्थिति देखिन थालेको छ ।

मंगलबार साँझ सहरका विभिन्न शहरी केन्द्र र पर्यटक स्थलहरूमा बख्तरबन्द सवारी साधन देखिएका छन् । अधिकारीका अनुसार करिब ८०० नेशनल गार्ड सैनिक र ५०० संघीय कानुन कार्यान्वयन अधिकारी राजधानीमा परिचालन हुनेछन् । डीसीकी डेमोक्रेट मेयर म्युरियल बोउसरले आफ्नो शहरमा अपराध नियन्त्रण बाहिर रहेको दाबी अस्वीकार गर्दै सैनिक परिचालनलाई ‘सत्तावादी धकेल’ को संज्ञा दिएकी छिन् ।

ट्रम्पले न्युयोर्क र शिकागोमा पनि यस्तै कदम चाल्ने चेतावनी दिएका छन् । सैनिकहरू सोमबारको घोषणापछि क्रमशः राजधानी प्रवेश गरिरहेका छन्। उनीहरू सरकारी भवन बाहिर बेरिकेड राख्दै र पर्यटकहरूसँग तस्बिर खिच्दै देखिएका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार सोमबार राति संघीय एजेन्टहरूले हत्या, हतियारसम्बन्धी अपराध, लागूऔषध कारोबार, अश्लील क्रियाकलाप, पछ्याउने, लापरबाहीपूर्वक सवारी लगायतका अभियोगमा २३ जनालाई पक्राउ गरेका छन्।

तर, मंगलबार रातिको टाउन हल कार्यक्रममा बोउसरले ट्रम्पमाथि आक्रोश व्यक्त गर्दै समुदायलाई ‘शहर, स्वायत्तता र गृह शासनको रक्षा गर्न तथा यस सत्तावादी धकेलविरुद्ध डेमोक्र्याटिक हाउस निर्वाचित गराउन’ आह्वान गरिन्।