बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसै हप्ताको अन्त्यतिर गाजाबारे आफ्नो सैन्य योजना सम्बन्धमा जानकारी गराउने बताएका छन् । नेतन्याहूले हमासविरुद्ध आक्रमण विस्तार गर्न र पूरै भूभाग अधीनमा पार्न चाहेका विवरणबीच उनको पछिल्लो भनाइ आएको छ ।
त्यस्ता रिपोर्टहरूबारे आधिकारिक रूपमा पुष्टि गरिएको छैन। यदि ती खबरहरूको आधिकारिक रूपमा पुष्टि भयो भने बाँकी बन्धकहरू रहेका गाजाका क्षेत्रहरूमा इजरायली सैनिक प्रवेश गर्ने छन् । बन्धक बनाइएका व्यक्तिहरूका कतिपय आफन्तले चाहिँ त्यस्तो सैनिक कारबाहीले जीवित रहेका बाँकी बन्धकहरूको ज्यान जोखिममा पार्न सक्ने भन्दै आक्रोश पोखेका छन् ।
सुकेका जीउ देखिने इजरेली बन्धकहरूका भिडियो सार्वजनिक भएपछि नेतन्याहुले उनीहरूका परिवारसँग कुरा गर्दै सबैलाई फिर्ता ल्याउन ‘निरन्तर र अथक प्रयास’ जारी राखिने बताए ।
तर स्थानीय सञ्चारमाध्यमले उदृत गरेका एक इजरायली अधिकारीले ‘हमासलाई सैन्य रूपमा परास्त गरेर’ बन्धकहरू रिहा गर्ने हिसाबले नेतन्याहु अगाडि बढिरहेको बताएका छन् ।
आक्रमणमा नयाँ तीव्रताले इजरायलका साझेदारहरूलाई थप आक्रोशित तुल्याउन सक्छ, जो विश्वभरि स्तब्धता निम्त्याउने गरी भोकमरी अथवा कुपोषणका कारण प्यालेस्टिनीहरू मरिरहेका रिपोर्टहरूबीच इजरेलले तत्काल युद्धविराम गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
बन्धक बनाइएका व्यक्तिहरूका परिवारलाई सघाइरहेको प्रमुख समूहले नयाँ इजरायली आक्रमणसम्बन्धी विचारको निन्दा गर्दै भनेको छ,’नेतन्याहूले इजरेल र बन्धकहरूलाई अन्धकारतर्फ डोर्याइरहेका छन्।’
यो धारणा करिब ६०० जना अवकाशप्राप्त इजरेली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पठाएको एउटा पत्रमा अझ स्पष्ट रूपमा उल्लेख छ, जसमा उनीहरूले गाजामा जारी युद्ध तत्काल अन्त्य गराउनका लागि इजरेलमाथि दबाव दिन अपील गरेका छन् ।

प्रतिक्रिया