डेभिडको परिवारले भन्यो-डेभिडलाई हमासका सुरुङमा निर्ममतापूर्वक भोकै राखिएको दृश्य हेर्न बाध्य भयौं


गाजा । गाजामा इजरायली बन्धक एभियाटर डेभिडलाई हमासले भोकभोकै राखेको आरोप पीडित परिवारले लगाएको छ ।

हमासले भिडिओ जारी गरेपछि डेभिडको परिवारले ‘प्रचारको औजार’ बनाउनकै लागि जानाजान भोकै राखेको आरोप लगाएको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई लिएर डेभिडको परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी आफ्ना प्रिय छोरा डेभिडलाई गाजाका हमासका सुरुङहरूमा जिउँदै गाडिएझैं अवस्थामा, जानाजान र निर्ममतापूर्वक भोकै राखिएको दृश्य हेर्न बाध्य भयौं। उनी जीवित कङ्कालजस्तै देखिन्छन्।’

२४ वर्षीय डेभिड २०२३ को अक्टोबर ७ मा दक्षिण इजरायलमा भएको एक संगीत महोत्सवका क्रममा हमासद्वारा अपहरणमा परेका थिए। भिडियोलाई एक ‘प्रचारात्मक हतियार’ भन्दै परिवारले आक्रोश व्यक्त गरेको हो ।

भिडियोमा डेभिडले आफैं बोल्दै भनेका छन्, ‘मैले दिनौंदेखि केही खाएको छैन… पानी पनि मुश्किलले पाएको छु।’ उनले आफैंका लागि खाल्डो खन्दै गरेको दृश्यले जनस्तरमा थप आक्रोश उत्पन्न गराएको छ । परिवारले इजरायली सरकार र अन्तर्राष्ट्रिय समुदायसँग “डेभिडको जीवन बचाउन सकिने सबै उपाय अपनाउन” आह्वान गरेका छन् ।