गाजा सिटी । हामासले प्यालेष्टिनी राज्य स्थापना नभएसम्म हतियार नत्याग्ने बताएको छ । गाजामा युद्धविरामका लागि भइरहेको वार्तामा इजरायलको एक प्रमुख मागलाई अस्वीकार गर्दै हमासले हातहतियार नत्याग्ने बताएका हो । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विटकोफका कथित टिप्पणीहरूका जवाफस्वरूप आएको हो ।
विटकोफले हामासले हतियार छोड्न तयार रहेको संकेत दिएको दाबी गरेका थिए। तर हामासले आफ्ना हतियार र ‘प्रतिरोधको अधिकार’ त्याग्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको हो ।
इजरायलले युद्ध अन्त्यका लागि हामासको निसत्रीकरणलाई अनिवार्य सर्त बनाउँदै आएको छ । पछिल्ला दिनहरूमा इजरायल र हामासबीचको अप्रत्यक्ष वार्ता गतिहीन बनेको छ ।
युद्धविराम र बन्धक रिहाइको विषयमा भइरहेको संवाद गत साता रोकिएको हो । यसैबीच, कतिपय अरब राष्ट्रहरूले पनि हामासमाथि दबाब बढाउँदै गाजाको नियन्त्रण छाड्न र हतियार त्याग्न आग्रह गरेका छन् ।
पश्चिमा देशहरू फ्रान्स र क्यानडाले आगामी महिनाहरूमा प्यालेष्टिनी राज्यको मान्यता दिने घोषणा गरेका छन् । बेलायतले पनि इजरायलले सेप्टेम्बरसम्म केही सर्तहरू पूरा नगरेमा मान्यता दिने संकेत दिएको छ ।

प्रतिक्रिया