बीबीसी । हमासद्वारा सञ्चालित गाजाको नागरिक सुरक्षा मन्त्रालयले गाजाको उत्तरमा मानवीय सहायता कुर्दै गरेका कम्तीमा ३० जना प्यालेस्टिनी इजरायली आक्रमणमा मारिएका जनाएको छ । तर एएफपी समाचार संस्था र अस्पताल स्रोतले भने मृतकको संख्या ४८ पुगेको जनाएका छन् ।
राफा क्षेत्रमा रहेको गाजा ह्युम्यानिटेरियन फाउन्डेसनको सहायता केन्द्र नजिकै थप ६ जना मारिएका छन् । इजरायली रक्षा बलले भने सहायता ट्रकहरूसँग जम्मा भएपछि ‘सैनिकहरूलाई खतरा महसुस भएकाले’ सयौं मिटर टाढाबाट चेतावनी स्वरूप गोली चलाएको दाबी गरेको छ ।
गाजाको अल–शिफा अस्पतालका प्रमुख डा. मोहम्मद अबु सलमियाले एएफपीलाई दिएको जानकारी अनुसार, अस्पतालले ३५ वटा शव प्राप्त गरेको छ। नागरिक सुरक्षा प्रवक्ताले घटनामा करिब ३०० जना घाइते भएका दाबी गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार, मे महिनाको अन्त्यदेखि हालसम्म गाजामा खाद्यान्न सहायता लिन खोज्दा इजरायली कारबाहीमा परी एक हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ ।

प्रतिक्रिया