बीबीसी । संयुक्त राज्य अमेरिका र युरोपेली संघबीच नयाँ व्यापार सम्झौता भएको छ । महिनौँदेखि चलेको आर्थिक द्वन्द्व अन्त्य गर्दै दुवै पक्षले युरोपबाट अमेरिका आउने वस्तुमा १५ प्रतिशत आयात महसुल लगाउने सहमति जनाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनबीच स्कटल्याण्डको टर्नबेरी गल्फ कोर्समा भएको निर्णायक वार्तापछि सम्झौतामा सहमति जुटेको हो। ट्रम्पले यसलाई ‘सबैका लागि राम्रो सम्झौता’ भन्दै स्वागत गरेका छन् ।
यो महसुल दर ट्रम्पले पूर्वघोषणा गरेजस्तो ३० प्रतिशत नभई, आधा मात्र हुनेछ। बदलामा युरोपेली संघले अमेरिकी उत्पादनहरूमा केही शून्य महसुल दर कायम गर्नेछ।
भोन डेर लायनले पनि सम्झौतालाई ‘ठूलो उपलब्धि’ भन्दै संयुक्त व्यापार स्थायित्वतर्फको महत्त्वपूर्ण कदम बताएकी छिन्। उनका अनुसार, ‘यो सम्झौताले युरोप र अमेरिकालाई झनै नजिक ल्याउनेछ।’
ट्रम्पले ईयूले आगामी तीन वर्षभित्र अमेरिकी ऊर्जा क्षेत्रमा ७५० अर्ब डलर र सैनिक उपकरणसहितको क्षेत्रमा ६०० अर्ब डलर लगानी गर्ने सहमति पनि जनाएका छन् । यस्ता लगानीले युरोपको रूसी उर्जामा निर्भरता कम गर्न मद्दत पुग्ने भोन डेर लायनको भनाइ छ।
सम्झौताअनुसार, विमान र त्यसका पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य वस्तुहरूमा भने कुनै महसुल नलाग्नेछ। सेमिकन्डक्टरसम्बन्धी छुट्टै सम्झौता चाँडै घोषणा गरिने अनुमान गरिएको छ।
यद्यपि ट्रम्पले विश्वव्यापी रूपमा लागू गरेको इस्पात र एलुमिनियममा ५० प्रतिशत महसुल भने यथावत् रहने जनाएका छन्।
ट्रम्पले हालसम्म बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग पनि यस्तै महसुल सम्झौता गरिसकेका छन्, यद्यपि उनको ‘९० दिनमा ९० सम्झौता’ को लक्ष्य भने अपूरा छन्। विश्लेषकहरूले यो सम्झौताले अमेरिका र युरोपबीचको व्यापारिक सम्बन्धमा नयाँ मोड ल्याउने बताएका छन्।

प्रतिक्रिया