समर्थन फिर्ता लिएको एक महिना नपुग्दै लुम्बिनीमा लोसपा सरकारमा, पाण्डे खेलकुद मन्त्री नियुक्त


लुम्बिनी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पाण्डेयलाई युवा तथा खेलकुदमन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् । खेलकुद मन्त्रालय यसअघि मुख्यमन्त्री आचार्यले सम्हाल्दै आएका थिए । पाण्डेले सोमबार शपथ लिने तय भएको छ ।

वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन् । यसअघि लोसपाले गत असार १७ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

तर एक महिना नबित्दै लोसपाले आइतबार प्रदेश सरकारलाई समर्थन रहेको भन्दै प्रदेशसभा सचिवालयमा पत्र बुझाएको छ ।