मकवानपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते


मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्युभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोतिबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएकी छन् ।

उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।