अख्तियार प्रमुख राईमाथि महाभियोग लगाउन कांग्रेसको माग


काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग लगाउन माग गरेको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद कमला पन्तले अख्तियार प्रमुख राईलाई महाभियोग लगाउन माग गरेकी हुन् । उनले राज्यका प्रमुख अङ्गहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

उनले राजनीतिक दलहरूबिचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबिच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन् ।

उनले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएको बताइन् । सांसद पन्तले अरुलाई मुद्दा चलाएको तर राईलाई मुद्दा नलचाएको भन्दै विशेष अदालतले प्रश्न उठाएको बताइन् ।

उनले यसमा सरकार र राई नबोलेको भन्दै संसदले यस विषयमा बोल्नुपर्ने बताइन् । उनले संसदलाई महाभियोग लगाउने व्यवस्था रहेकाले त्यसतर्फ अघि बढ्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘यसमा सरकार बोल्नुपर्ने हो । तर सरकार पनि नबोल्ने, अनि अख्तियार प्रमुख आफैं पनि नबोल्ने । अब कोही नबोेलेपछि संसद बोल्नुपर्यो नि । संसदसँग महाभियोग लगाउन सक्ने व्यवस्था छ नि ।’