क्यामरुन । क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले अक्टोबर १२ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन सक्ने अनुमोदित उम्मेदवारहरूको सूचीबाट बाहिर राखेका छन् ।
राष्ट्रिय निर्वाचन परिषद्ले जारी गरेको अस्थायी सूचीमा रहेका १३ उम्मेदवारमध्ये सम्भावित प्रतिस्पर्धीका रूपमा मौरिस काम्तोलाई राखिएको छैन । उनी अब राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । काम्तो सन् २०१८ को राष्ट्रपतीय चुनावमा बियापछि दोस्रो स्थानमा रहेका थिए ।
गत साता औपचारिक रूपमा उम्मेदवारी दिएका ७१ वर्षीय काम्तो निर्वाचन परिषद्मा पेश गरिएका ८३ जनामध्ये एक थिए ।
अस्थायी सूचीमा कुनै पनि चुनौतीलाई विचार गरेपछि आगामी दिनमा उम्मेदवारहरूको निश्चित सूची घोषणा गरिनेछ।
काम्तोले ‘अफ्रिकन मुभमेन्ट फर न्यु इन्डिपेन्डेन्स एन्ड डेमोक्रेसी (म्यानिडेम)’ को उम्मेदवारको रूपमा भाग लिन खोजेका थिए ।
सन् २०१८ को चुनावमा काम्तो क्यामरुन पुनर्जागरण आन्दोलन (एमआरसी) बाट उम्मेदवार थिए ।
सन् १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बिया आठौँ कार्यकालका लागि चुनावी मैदानमा छन् । पूर्वप्रधानमन्त्री बेलो बोबा माइगारी र गत जुनको सुरुमा रोजगारमन्त्रीबाट राजीनामा दिएका इसा चिरोमा बकरीले भने चुनावमा भाग लिन स्वीकृति पाएका छन् ।

प्रतिक्रिया