संविधान संशोधन गर्नका लागि सरकारले कार्यदल बनाउनुपर्छः कृष्ण सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिटौलाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् ।

उनले सरकारले काम गर्न नसके पनि यो सरकारको विकल्प नरहेको बताए। उनले भने,‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । जनताले सोचे अनुसार सरकारले काम गर्न सकेको छैन । सरकार पुरै कार्यकाल जान्छ। अर्को सरकार बन्ने विकल्प छैन। सम्झौता अनुसार सरकार जान्छ।’

सिटौलाले संविधान संशोधन गर्नका लागि सरकारले कार्यदल बनाउनुपर्ने बताए । सिटौलाले कांग्रेसको महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुने बताए । उनले कांग्रेसले बागमतीका मुख्यमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावले पार्टीमा क्षति पुग्ने बताए।