खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराईद्वारा माइतीघरमा सत्याग्रह सुरु


काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराईले आइतबारदेखि काठमाडौंमा सत्याग्रह सुरु गरेका हुन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनले माग गर्दै आएका छन् । माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् ।

उनले संघीय सरकारसँग केवल नीति निर्माण बनाई गाउँघरमा मूल्यविहीन बनेका बाँस, काठ, गाँजा, लोकल रक्सी, राडीपाखी जस्ता स्थानीय उत्पादित सामग्रीलाई सरकारी रूपमा प्रयोग गर्न मिल्नेगरी कानून बनाउने, भवन बनाउन सकिनेगरी सरकारी नम्स एवं विल्डिङ कोडमा समावेश गरी कानूनी रुपमा प्रयोग गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

हिमालको अस्तित्व संकटग्रस्त भई जलवायु परिवर्तनको प्रभावले काला पहाडमा परिणत हुँदै गएकाले यसबाट हुने मानवीय तथा प्राणीको जोखिमलाई समयमा नै मध्यनजर राख्दै जैविक विविधता र रैथाने संस्कृतिको संरक्षण गर्न आवश्यक नीति–निर्माण तथा पहलकदमी तत्काल गर्न र विश्वव्यापि जलवायु परिवर्तनको जोखिम बढाउने विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गर्ने नेपालजस्ता राष्ट्रलाई निश्चित रकम क्षतिपूर्तिबापत् तिर्नुपर्ने प्रावधानका लागि अन्तर्राष्ट्रिय मञ्च तथा फोरममा लविङ गर्दै आवाज उठाउनुपर्ने माग राखेका छन् । उनलाई स्थानीय अगुवा र केही जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् ।