चितवन । पश्चिम चितवन र माडी क्षेत्रमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सूचना जारी गरी गर्मीमा माग बढेको भन्दै आज ६ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको हो ।
चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने छ ।
अत्यधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।
उनका अनुसार १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो । उनले एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताए ।
वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । विद्युत् माग बढेर ३३ केभी डगकन्डक्टर तारमा चार सय ५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिए ।
दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सबस्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उनले जानकारी दिए । तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि २०७३को लक्ष्मीपूजाका दिनदेखि नेपालमा लोडसेडिङ अन्त्यको सुरुवात भएको थियो भने २०७५ वैशाख अन्तिमसम्म आइपुग्दा औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको थियो । तर कुलमानलाई हटाएसँगै २०८२ साउन ११ अर्थात् मध्य वर्षामा आइपुग्दा फेरि लोडडसेडिङ सुरु भएको छ ।
यस्तो छ चितवनमा लोडसेडिङको तालिका


प्रतिक्रिया