काठमाडौं । आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तय भएको फिल्म ‘जेरी अन टप’को फस्र्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले सिनेमाको प्रचार थालनी गर्दै बिहीबार एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन् । पोस्टरमा समावेश पृष्ठभूमिले सिनेमाको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अबतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अबतारमा छन् । पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ ।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, कलाकार निर्मल शर्मा, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन् ।
सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्मलाई छायाँकन गरिएको छ ।
सिनेमामा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ । विश्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायाँकन छ । सिनेमाको रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।

प्रतिक्रिया