समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताएकी छन् ।

‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने कुरा मात्र नभइ सामाजिक न्याय समानता र विश्वासको स्रोत भएको बताइन् ।

समृद्धिका लागि राष्ट्रिय पुँजीको निर्माण तथा रुग्ण उद्योगको पुनःव्यवस्थापन र पुनःउत्थान गरिनुपर्ने र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई श्रृङ्गार गरेर पर्यटनको विकासलाई अघि बढाउनुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

पाल्पाली करुवा, भोजपुरे खुकुरी र पाटनका ढलौटका उत्पादनलाई ब्राण्डिङ गरी उपहार सामग्रीका रुपमा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने उनको भनाइ थियो । उनले युवा उद्यम बढाउन आवश्यक नीति बनाउने तथा श्रम पलायनलाई निरुत्साहित गर्नुपर्ने बताइन् ।

उनले सामाजिक न्याय र समानतामा आधारमा समाजवाद निर्माणमा जुट्नुपर्ने बताइन्। ‘राजनीतिक दलहरूले उपयुक्त कार्यान्वयनमा आआफ्नो भूमिका निर्वाह गर्नुपर्दछ। सरकारले विद्यमान नीतिहरूको गहन समीक्षा गर्दै अग्रसरता देखाउनुपर्छ’, देशको समृद्धिको यात्रामा सहकार्य गर्न आह्वान गर्दै उनले भनिन्, ‘प्रतिपक्षले रचनात्मक सहयोग गर्नुपर्छ। यसपछि मात्रै स्वदेशी तथा विदेशी लगानीको ढोका खुल्नेछ। दीगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ।’

आर्थिक विकासका लागि अत्यन्त अनुकूल समय भएको बताउँदै उनले अब उर्वर कृषि भूमि, जल सम्पदा र खनिजको उपयोग गर्नुपर्नेमा जोड दिइन्।

उनले आर्थिक उन्नयनका लागि स्वदेशी सीप र प्रविधिको अति आवश्यक रहेकाले नेपालीको पुँजी र अन्य लगानीलाई लगानीको वातावरणमार्फत आकर्षण गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘दीर्घकालीन योजना तर्जुमा गरी विश्वासिलो वातावरण बनाउनुपर्छ। दुई छिमेकीको सहयोग लिएर थप द्रुत पार्नुपर्छ। अन्य मुलुकको साझेदारलाई थप काम गर्नुपर्छ ।’