नयाँ विमानस्थल निर्माणभन्दा पहिले भएका विमानस्थलको स्तरोन्नति प्राथमिक हुनुपर्छः सचिव भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भट्टराईले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताएका हुन् । उनले अरुलाई छाडेर निजगढ विमानस्थल बनाउनुपर्ने बताए ।

उनले भने, ‘ ५५ विमानस्थल छन्, तर सबै सञ्चालनमा छैनन्, अब कति आवश्यक छन् भन्नेबारे रणनीतिक छलफल हुनुपर्छ । नयाँ विमानस्थल निर्माणभन्दा पहिले भएका विमानस्थलको स्तरोन्नति प्राथमिक हुनुपर्छ नीति कार्यक्रममा फेरि विमानस्थल थप्ने कुरा उचित छैन । यो राजनीतिक दबाब हो । दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउनु हुँदैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ अरु तत्कालै बनाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले बैठकमा जनसंख्या, भुगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने बताए । उनले हवाई सेवा प्राधिकरणको नेतृत्वमा नेपाल सरकारको कर्मचारीभन्दा हवाई संस्थाका अनुभवी, क्षमता भएका व्यक्ति महानिर्देशक हुनुपर्ने समेत बताए ।