काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले भ्रष्टाचारको डरलाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले टिभीको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएकोमा आपत्ति जनाइन् ।
उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी रहेको पनि बताइन् । उनले भनिन्, ‘टिभीको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन् । ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन् छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन ? भ्रष्टाचार, राजनीतिक संरचना र प्रशासनको मिलिमतोमा वर्षौदेखि आजका मितिसम्म निर्वाद चलिरहेको मानव तस्कर र भ्रष्टाचारको यो डरलाग्दो जालोलाई हटाउने आँट नदेखिएको मात्र होइन, ठोस पहल नै नगरिएकोमा हाम्रो विरोध र आपत्ति छ । हाम्रो माग यथावत छ, आन्दोलन जारी छ ।’
उनले भ्रष्ट र तस्करहरुको सरकारसँग नडराएको बताइन् । उनले भनिन्, ‘भिजिट भिसाको नाममा हुने संगठित मानव तस्करबारे सरकारलाई खबरदार गरिरहेका छौं । तस्करको सेटिङ नभत्किएको तथ्य आज कै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरुको सरकारसँग डराएका छैनौ ।’

प्रतिक्रिया