पार्टीलाई मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पूरानो, थोत्रो, खराब र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताए ।

समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘आज नेपाली कांग्रेसका लागि चुनौती भनेकै पार्टी पुरानो, थोत्रो भयो भन्ने भाष्यलाई चिर्नु हो । पार्टीलाई मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । विचारको मन्थन हुनुपर्छ ।’