-नारायण गाउँले ।
टाइँ टाइँ ..फिस्स हुनेजस्तो पो देखियो ! प्रचण्ड र माधव नेपालजस्ता खेलाडीलाई त पेलेर तेल निकाल्ने ओलीले हिजो आफैंले यो उचाइसम्म पुर्याइदिएकी विद्याजीलाई के बाँकी राख्लान् र ! हिजो राष्ट्रपति हुँदा पनि उहाँ सबैको जस्तो देखिन सक्नुभएन । संविधान र अदालत दुबैले अवैध ठहर्याएको संसद विघटनलाई बारबार ल्याप्चे ठोक्ने होस् या बहुमत सांसदले देउवालाई समर्थन गर्दा पनि ओलीलाई नै नियुक्त गर्ने विषयमा होस्, उहाँ कसैको राष्ट्रपति जस्तो बन्नुभयो । ओली नहुँदा सरकार र संसदबाट पास भएको विधेयकसमेत प्रमाणित गर्न मान्नुभएन ।
पार्टी सदस्यता ‘त्यागेको’ भन्ने दाबी पनि गलत रहेछ । ढाँट र छलछाम रहेछ । त्यो जस्ताको त्यस्तै होल्डमा राखिएको रहेछ । त्यागेको भए नवीकरण होइन, नयाँ हुन्थ्यो । उहाँ एमालेकै ‘कामरेड’को रूपमा राष्ट्रपति बन्नुभएको उहाँले नै स्वीकार गर्नुभयो । देशको सर्वोच्च र सम्मानित पदमा ‘सबैको’ मान्छे पुगोस् या होस् भन्ने उद्देश्यले नै राजनैतिक सदस्यता त्याग गर्ने विधि बनेको हो । त्याग भनेको म अब एमाले होइन भन्ने हो । सदस्यता छैन भनेको हो । नभएको सदस्यता कसरी नवीकरण हुन्छ ? अलिकति मर्यादा, विधि र नैतिकता त होला नि !
एमालेमा अधिवेशन, दल, पोलिटब्युरो या विधान भन्ने सबै नाटक हुन् । हिजो अधिवेशन, पार्टी र विधानले अध्यक्षको कार्यकाल दुई पल्टभन्दा बढी नहुने व्यवस्था गरेको थियो । ७० वर्षको सीमा तोकिएको थियो । ओली आफैंले यो अन्तिम कार्यकाल भनेका थिए । मेरो अन्तिम हो भन्दै अरूलाई चुनावमा उठ्न पनि नदिने खेल त देख्नुभएकै थियो । सबै केन्द्रीय सदस्य टीके बन्न तयार थिए । एमालेको वर्तमान विधान अनुसार ओली अध्यक्ष बन्न सक्दैनन् । नयाँ र उनीभन्दा युवा नेतृत्व आउनुपर्छ ।
तर आज युवा नेता भनिने योगेश भट्टराईले यो विधान ओलीलाई लागू नगरम् तर अरूलाई भने लागू गरम् भनेछन् । ओलीलाई पार्टीको कानुन र विधानभन्दा माथि राखम् भन्ने उनको तर्क रहेछ । यस्तो त्वम् शरणम् एउटा लोकतान्त्रिक भनिने पार्टीमा बिरलै देख्न पाइने दृश्य हो ।
ओली आफैंले बनाएको यो विधान फेरेर आफैं अध्यक्ष बन्न चाहन्छन् । एउटा व्यक्तिका लागि विधान नै फेर्ने भन्ने सुन्दर नजीर त होइन तर उनले कोसिस गर्नु र सके सफल हुनु स्वाभाविक मान्न सकिन्छ । ओलीबाहेक अन्यमा पनि कसैले छोड्न नचाहने त देखिएकै छ । वर्तमान विधान अनुसार ओली अध्यक्ष बन्न नसक्ने हुनाले मदन भण्डारीको सहारामा अध्यक्ष पड्काउने विद्याको लोभलाई पनि स्वाभाविक मानौँ ! तर यो विधान ओलीबाहेक अरूलाई लागू गरम्, उहाँलाई छूट दिम् भन्ने योगेशजीको भक्ति एकदम अस्वाभाविक लाग्यो । उसो त ओलीमा कुनै भिजन, लोकतन्त्र, नैतिकता र योग्यता छैन भनेर बारम्बार बोल्नुको नोक्सानी योगेशजीले भोगिसकेको विषय हो । कांग्रेस या नेकपा एसमा बरु उहाँको पुस्ताले सकेजति विद्रोह गरेको छ, नेतृत्वलाई चुनौती दिएको छ ।
एउटा पार्टीमा फर्किने भएपछि ‘सबैको’ हुँदा पाइने पूर्व राष्ट्रपतिको सेवा र सुविधा उहाँले त्याग्नुभयो । राम्रो भयो । तर सदस्यता नवीकरण भने जस्तै अध्यक्ष बन्न नपाए पूर्व राष्ट्रपतिको सेवासुविधा पनि नवीकरण भन्ने त होला । त्यागेको कुरा नवीकरण हुँदैन । उहाँ आफैंले भने अनुसार अब उहाँ कामरेड विद्या हो । अब वडाध्यक्ष या राजदूत बन्ने कुरो भएन । कि एक कार्यकाल कुरेर ओलीसँग मिलेर अध्यक्षको दाउ हेर्न पर्यो । त्यो पनि ग्यारेन्टी छैन । दुई पल्ट राष्ट्रपति, पहिलो महिला राष्ट्रपति ! त्यत्रो सम्मान, आदर र इतिहासको गुरुत्व पनि अब रहेन । ओलीसँगको यो पौंठेजोरीमा अन्तिममा त्यही ‘पुनः मूसा बन’ भन्ने संस्कृतको कथा दोहोरिने त होइन ?

प्रतिक्रिया