रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक


मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९-२० सम्मलाई तथ भएको क्रेमलिनले शनिबार जनाएको छ ।

भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ।

पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा पनि विचार आदान–प्रदान गर्ने र वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए पछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन-रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ। बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामाग्रीहरू प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ ।

द्वन्द्वको विषयलाई लिएर रूस माथि लगाएको आर्थिक प्रतिबन्धको बीचमा रूसी जीवाश्म इन्धनको विश्वको शीर्ष खरिदकर्ताको रूपमा, चीन मस्कोको प्रमुख आर्थिक साझेदार बनेको जनाइएको छ ।