काम गर्ने जिम्मा चाहियो, पद चाहिएन, रात दिन काम गर्छुः बामदेव गौतम


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले आफू आन्दोलनको नेता भएको बताएका छन् । शुक्रबार पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूले नेतृत्व गरेका आन्दोलन अहिलेसम्म असफल नभएको बताए ।

उनले आफू एकीकृत समाजवादीमा आएपछि पार्टीले ठूलो शक्ति आर्जन गर्ने भन्दै पार्टीको सदस्य कैयौं गुणा बढाउने दाबी गरे । उनले एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई चार वर्ष लागेको बताए ।

उनले भने, ‘चार वर्ष पहिला म आउन पाएको भए, यो समाजवाद निर्माण सुरु हुन्थ्यो । म एक्लै होइन, तपाईंहरूसँगै लाग्ने हो । एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ ।’

उनले पार्टीमा काम गर्ने जिम्मा चाहिएको भन्दै पार्टीमा आफूलाई कुनै पद नचाहिने बताए । उनले भने, ‘मैले आजसम्म आँटेका काममा असफलता हासिल गरेको छैन । काम गर्ने जिम्मा चाहियो, पद चाहिएन, मैले राति दिन काम गर्छु । तपाईंहरू कसैको जिम्मेवारी खोस्दिनँ आएको होइन ।’

गौतमले सय वर्षसम्म पनि कम्युनिस्ट आन्दोलनको झण्डा बोकिराख्ने बताए ।